Bahumat Khabar

बिहार विधानसभा चुनाव : आजदेखि मतगणना सुरु, एनडिए अघि रहने अधिकांश एक्जिट पोलको अनुमान

काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ को मतगणना आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु हुँदैछ । भारतीय अनलाइन हिन्दुस्तान टाइम्स का अनुसार सुरुवातमा हुलाकमार्फत् आएको मतपत्र गणना हुनेछ, त्यसपछि मात्रै ईभिएम खोलिनेछ । सबै मतगणना प्रक्रियाहरू शनिबारसम्म सकिने अनुमान गरिएको छ ।

बिहारमा यसपटक २४३ सिटका लागि दुई चरणमा मतदान सम्पन्न भएको थियो—पहिलो चरण ६ नोभेम्बरमा र दोस्रो चरण ११ नोभेम्बरमा । बीबीसी हिन्दी का अनुसार सन् १९५१ पछि यसपालि इतिहासमै सबैभन्दा धेरै, ६७.१३ प्रतिशत मत खसेको छ, जुन अघिल्लो निर्वाचनभन्दा ९.६ प्रतिशतले बढी हो ।

यस चुनावमा भारतीय जनता पार्टी (भाजपा)–जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी)–कांग्रेस नेतृत्वको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा रहेको एनडिए स्पष्ट बहुमतमा रहने अधिकांश एक्जिट पोलले देखाएका छन् ।

अर्कोतर्फ, ३५ वर्षीय तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको महागठबन्धनले सर्वेक्षणलाई अस्वीकार गर्दै वास्तविक मतगणनाले स्थिति बदल्ने दाबी गरेको छ ।

यसपटक पहिलोपटक राजनीतिमा प्रवेश गरेको प्रशान्त किशोरको ‘जन सुराज’ पार्टीले २–३ सिटसम्म मात्र पाउने अनुमान अधिकांश सर्वेक्षणमा उल्लेख छ ।

सरकार गठनका लागि १२२ सिट आवश्यक छ ।

करिब सबै सर्वेक्षणले एनडिएलाई स्पष्ट बहुमत दिने देखिएका छन् । प्रमुख सर्वेक्षणका अनुमान यसप्रकार छन्:

मैट्राइज–IANS पोल

  • एनडिए : १४७–१६७
  • महागठबन्धन : ७०–९०
  • जन सुराज : ०–३

दैनिक भास्कर पोल

  • एनडिए : १४५–१६०
  • महागठबन्धन : ७३–९१
  • जन सुराज : ०–३

पिपल्स पल्स पोल

  • एनडिए : १३३–१५९
  • महागठबन्धन : ७५–१०१

पोल डायरी पोल

  • एनडिए : १८४–२०९
  • महागठबन्धन : ३२–४९

अन्य एजेन्सीहरूले पनि यस्तै अनुमान गर्दै एनडिएलाई स्पष्ट बहुमत दिने देखाएका छन् । यदि यी ट्रेन्ड सही भए ७४ वर्षीय नितिश कुमार पुनः मुख्यमन्त्री बन्नेछन् ।

एनडिए नेताहरूले अधिकांश सर्वेक्षण ‘यथार्थ नतिजासँग नजिक’ रहेको दाबी गरे ।

बिहार सरकारका मन्त्री अशोक चौधरीले एक्जिट पोल पुनः सही सावित हुने बताए ।

भाजपाका प्रदेश अध्यक्ष दिलीप जयसवालले ‘मोदीको ग्यारेन्टी र नितिशको विकास मोडेललाई जनताले विश्वास गरेको’ प्रतिक्रिया दिए ।

त्यसैबेला विपक्षी महागठबन्धनले एक्जिट पोललाई अस्वीकार गर्दै ‘अन्तिम नतिजाले सबैलाई चकित पार्ने’ दाबी गरेको छ ।

आरजेडी प्रवक्ता मृत्युञ्जय तिवारीले “पहिले पनि एक्जिट पोल गलत साबित भइसकेका छन्, यसपालि पनि गलत नै हुनेछन्” भने ।

पप्पु यादवले त्रिशंकु विधानसभा बन्ने सम्भावना पनि जोड सहित प्रस्तुत गरे ।

लामो प्रतीक्षापछि वास्तविक नतिजा आजदेखि क्रमशः सार्वजनिक हुँदै जानेछ । एनडिए कि महागठबन्धन—बिहारको भविष्य कसको हातमा जाने भन्ने प्रश्नको जवाफ आजैबाट स्पष्ट हुँदैछ ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.