काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताहरुको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु भइसकेको जनाएकी छिन् ।
बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचारसम्बन्धी प्रकरणबारे पनि सरकारले प्रष्ट जानकारी प्राप्त गरेको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याइने बताइन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको घरमा आगजनी हुँदा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले भनिन्, “वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका घटनाबारे छोटो समयमा पर्याप्त जानकारी पाइसकेको छ । यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रक्रियामा अघि बढ्छ ।”
उनका अनुसार आन्दोलनकै क्रममा नेताको घरमा भेटिएको नगदबारे सम्बन्धित निकायले आधिकारिक छानबिन थालिसकेको छ । साथै, तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य पनि सुरु भइसकेको उनले जानकारी दिइन् ।





