काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (बहुमत) १ नं. ब्यूरोको तेस्रो पूर्ण बैठक हालै सम्पन्न भएको छ । ब्यूरो इन्चार्ज धमिलको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य गम्भीरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस ऐतिहासिक बैठकले मुलुकको स्वाधीनता, सार्वभौमसत्ता र जनसरोकारसँग जोडिएका सबै मोर्चामा उत्पन्न गम्भीर संकटको समीक्षा गर्दै नयाँ राजनीतिक हस्तक्षेप र क्रान्तिकारी आन्दोलनको निर्णायक रणनीति सार्वजनिक गरेको छ ।
बैठकका प्रमुख अतिथि गम्भीरले प्रशिक्षणमूलक राजनीतिक मन्तव्य सहित जेन–जी आन्दोलनको ऐतिहासिक समीक्षा प्रस्तुत गर्दै भने—“मुलुकको स्वाधीनतामाथि प्रत्यक्ष हमलाहरू भइरहेको बेला क्रान्तिकारी शक्तिहरू निर्णायक हस्तक्षेपमा उत्रनु ऐतिहासिक आवश्यकता हो ।” उनले स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण र देशभर व्यापक जनसंघर्ष–जनसंवाद अभियानलाई पार्टीको मुख्य दायित्वको रूपमा अघि बढाउने कुरा स्पष्ट पारे ।
बैठकले बढ्दो भ्रष्टाचारलाई “जनताको भविष्य र राष्ट्रिय सार्वभौमसत्तामाथि प्रत्यक्ष प्रहार” ठहर गर्दै यसविरुद्ध संगठनगत बल, वर्गीय सचेतना र वैज्ञानिक संयोजनमार्फत् निर्णायक जनकारबाही सञ्चालन गर्ने ऐतिहासिक निर्णय पनि गरेको छ ।
प्रदेश १ मा योजनाबद्ध राजनीतिक अभ्यासमार्फत् क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने रणनीति अनुमोदन गर्दै जनसंविधान निर्माणलाई राष्ट्रिय बहसको केन्द्रविन्दु बनाउने निर्णय बैठकले गरेको छ । यसै क्रममा, बैठकले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ तुरुन्तै सञ्चालन गर्ने निर्णय गर्दै विस्तृत कार्ययोजना पारित गरेको छ ।
सक्रिय अभियानले प्रतिक्रियावादी सत्ताको चुनाव–संसद–पुनर्स्थापना खेल ध्वस्त पार्ने, जनविद्रोहको आधारभूमि तयार गर्ने, क्रान्तिकारी जनएकता, जनसंवाद तथा जनदबाब विस्तार गर्ने रणनीति अपनाउने छ । साथै, भ्रष्टाचारविरुद्धको जनकारबाहीलाई प्राथमिक क्रान्तिकारी मोर्चाको रूपमा अघि बढाउने पनि बैठकले औपचारिक घोषणा गरेको छ ।
बैठकमा केन्द्रीय सचिवालय सदस्य सागर तथा केन्द्रीय सल्लाहकार समिति सदस्य उमेशको समेत विशेष आतिथ्यता रहेको थियो ।





