काठमाडौं । दलाल पूँजीवादी संसदीय सत्ताको विरुद्ध निर्णायक वैचारिक–राजनीतिक मोर्चा खोल्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नं. ब्युरोले ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ को औपचारिक उद्घाटन गरेको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–स्थित गोलपार्कमा शुक्रबार आयोजित विशाल समारोहले जनताको सत्ता स्थापनाका लागि संगठित क्रान्तिकारी संघर्षको नयाँ चरण आरम्भ भएको घोषणा गरेको हाे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. ब्युरो इन्चार्ज धमिलले वर्तमान दलाल संसदीय व्यवस्था साम्राज्यवादको सेवक बनेर जनतामाथि उत्पीडन, शोषण, विकृति र विसंगति थोपरिरहेको ठोकुवा गरे । उनले यही व्यवस्थाले देशलाई गहिरो राजनीतिक, आर्थिक र सामाजिक संकटको खाडलमा धकेलेको उल्लेख गर्दै याे व्यवस्थाको समूल ध्वंस नगरी जनताको व्यवस्था स्थापना सम्भव नहुने स्पष्ट पारे ।
धमिलले पछिल्लो समय देखिएको जेन–जी विद्रोह बारे चर्चा गर्दै युवाहरूले उठाएका प्रश्न र असन्तोष सही भए पनि त्यस आन्दोलनलाई साम्राज्यवादी तथा प्रतिगामी शक्तिहरूले अपहरण गरी जनविरोधी दिशामा मोडेको आरोप लगाए । उनले युवाहरूलाई भ्रम र भड्कावबाट मुक्त हुँदै क्रान्तिकारी वैकल्पिक राजनीतिक दिशामा संगठित हुन आह्वान गरे ।
उनले वर्तमान संकटको मूल जड संसदीय व्यवस्था नै भएको दोहोर्याउँदै जनसंविधान निर्माणका लागि संगठित जनसंघर्ष अपरिहार्य रहेको बताए । सरकारले घोषणा गरेको फागुन २१ को संसदीय चुनाव प्रति लक्षित गर्दै उनले यस्तो निर्वाचनले राजनीतिक समस्याको समाधान होइन, बरु देशलाई झनै गरिब र कंगाल बनाउने खतरा रहेको चेतावनी दिए । साम्राज्यवादको निर्देशनमा हुन लागेको भन्दै उनले फागुन २१ को चुनाव खारेज मात्र होइन, ध्वस्त गरिने घोषणा गरे ।
त्यसैगरी, पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरेशले आजको ऐतिहासिक आवश्यकता जनसंविधान भएको स्पष्ट गरे । उनले दलाल संसदीय व्यवस्थाले जनताको आधारभूत अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताको सवालमा गहिरो असमानता र अन्याय सिर्जना भएको बताए । उनले यसको निकास संगठित जनसंघर्षबाट मात्र सम्भव हुने धारणा राखे ।
नरेशले देशभर फैलिएको मिटरब्याजी, वित्तीय शोषण र भ्रष्टाचार विरुद्ध सशक्त जनकारबाही आन्दोलन चर्काइने घोषणा गर्दै “जनसंविधानका लागि जनसंघर्ष किन ?” भन्ने प्रश्नको वैचारिक प्रस्टता प्रस्तुत गरे । उनका अनुसार जनसंघर्षको लक्ष्य र आधारहरू यसप्रकार छन्—
दलाल पूँजीवादी सत्तालाई उखेल्दै जनताको सत्ता स्थापना गर्न, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सबै समस्या समाधान गर्न, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न, जननिर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था सुनिश्चित गर्न, जनप्रतिनिधि सभालाई प्रभावकारी कानुन निर्माता बनाउने, प्रधान न्यायाधीश जनताबाट निर्वाचित हुने व्यवस्था गर्न, सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न, राष्ट्रिय उद्योग सञ्चालन गरी पर्याप्त रोजगारी सिर्जना गर्न, किसान, मजदुर र श्रमजीवीको श्रमको उचित मूल्य सुनिश्चित गर्न, महिलाका सम्पूर्ण अधिकार प्रत्याभूति गर्न, जाति–जनजातिका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्दै राष्ट्रिय एकता सुदृढ गर्न, प्रत्येक पालिकामा कृषिमा आधारित मझौला उद्योग सञ्चालन गर्न, सामुदायिक आवास प्रणालीमार्फत सबै परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न ।
उनले पार्टीले अघिसारेको दलाल पूँजीवादी लुटलाई संरक्षण गर्ने संविधान खारेज गरी जनताको संविधान निर्माण, स्वाधीन संयुक्त सरकार गठन र अन्ततः वैज्ञानिक समाजवादी सत्तातर्फ अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन समारोहमा वक्ताहरूले अभियानलाई गाउँ–टोल, कारखाना–खेत र शिक्षालयसम्म विस्तार गर्दै श्रमिक, किसान, युवा र उत्पीडित समुदायलाई संगठित गर्ने कार्यमा जोड दिए ।
समारोहको उद्घोषण तथा संचालन पार्टीका केन्द्रिय सदस्य अनुपमले गरेका थिए भने स्वागत उदयपुर जिल्ला सचिव सुदिपले गरेका थिए । कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा जनसमुदायको उल्लेख्य र उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
पार्टीका अनुसार यो अभियान १ नं. प्रदेशका १४ वटै जिल्लामा वालिङ, प्रचार-प्रसार, कोणसभा, जनभेटघाट र संगठन विस्तारका कार्यक्रममार्फत् निरन्तर ३ महिनासम्म सञ्चालन गरिनेछ । कटारीबाट प्रज्वलित यो अभियानले दलाल संसदीय सत्ताको अन्त्य र जनताको संविधान स्थापनाका लागि क्रान्तिकारी संघर्षलाई निर्णायक उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।



