काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुर जिल्लाको दोस्रो जिल्ला बैठक शनिबार क्रान्तिकारी उत्साह र उच्च वैचारिक–राजनीतिक चेतनासहित ऐतिहासिक रूपमा सम्पन्न भएको छ । जिल्ला सचिव कमरेड सुदिपको अध्यक्षता तथा पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् १ नं. ब्यूरो इन्चार्ज कमरेड धमिलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध निर्णायक वैचारिक–राजनीतिक संघर्ष छेड्दै वर्गसंघर्षलाई नयाँ उचाइमा लैजाने स्पष्ट संकल्प सार्वजनिक गरेको छ ।
बैठकले साम्राज्यवाद, विस्तारवाद र घरेलु दलाल पुँजीवादको गठजोडद्वारा लादिएको नवउदारवादी शोषणकारी संसदीय व्यवस्थाले मुलुकलाई गहिरो आर्थिक, राजनीतिक र सामाजिक संकटमा धकेलेको निष्कर्ष निकालेको छ । संसदीय व्यवस्था स्वयं उत्पीडनको औजार भएको ठहर गर्दै, त्यसबाट कुनै पनि प्रकारको जनमुक्ति सम्भव नभएको ऐतिहासिक–वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको छ । वैज्ञानिक समाजवादी क्रान्ति नै आजको युगीन आवश्यकता भएको बैठकले ठोस रूपमा पुनः पुष्टि गरेको छ ।
प्रमुख अतिथि कमरेड धमिलले प्रशिक्षणमूलक राजनीतिक मन्तव्य दिँदै साम्राज्यवादको प्रत्यक्ष संरक्षणमा गठित वर्तमान शुशिला कार्की नेतृत्वको सरकारलाई “दलाल पुँजीपति वर्गको सत्ता यन्त्र, प्रतिक्रियावादी राज्यसत्ताको प्रतिनिधि र साम्राज्यवादको नांगो कठपुतली” को संज्ञा दिनुभयो । उहाँले फागुन २१ का लागि घोषणा गरिएको निर्वाचनलाई जनतालाई पुनः संसदीय भ्रममा फसाउने षड्यन्त्रका रूपमा व्याख्या गर्दै, उक्त चुनावले पुरानो शोषणकारी व्यवस्था र दलाल संविधानलाई मात्र पुनःस्थापित गर्ने ठोकुवा गर्नुभयो । त्यसैले फागुन २१ काे जनविरोधी निर्वाचन सशक्त जनसंघर्षमार्फत् खारेज गर्दै ध्वस्त पार्नुपर्ने स्पष्ट क्रान्तिकारी आह्वान गर्नुभयो ।
पुरानो दलाल संसदीय व्यवस्था र त्यसअन्तर्गत बनेको प्रतिक्रियावादी संविधानले राष्ट्रिय स्वाधीनता, जनजीवन र उत्पादन सम्बन्धहरूलाई पूर्ण रूपमा अपाङ्ग बनाएको निष्कर्ष बैठकले निकालेको छ। कमरेड धमिलले नयाँ वैज्ञानिक समाजवादी व्यवस्था र त्यसअन्तर्गत निर्माण हुने वैज्ञानिक समाजवादी जनसंविधानले मात्र श्रमिक वर्ग, किसान, उत्पीडित समुदाय र सम्पूर्ण श्रमजीवि जनताको वास्तविक मुक्ति सुनिश्चित गर्न सक्ने स्पष्ट पार्नुभयो । संसदीय सुधारवाद वर्गसंघर्षलाई भुलाउने घातक भ्रम मात्र भएको ठहर गर्दै, जनतामै आधारित वैकल्पिक सत्ता निर्माणतर्फ उन्मुख जनसंघर्ष नै एकमात्र क्रान्तिकारी मार्ग भएको निष्कर्ष प्रस्तुत गरियो ।
बैठकले पार्टीद्वारा अघि सारिएको ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ उदयपुर जिल्लाभर योजनाबद्ध र निरन्तर रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै, उक्त अभियानलाई अझ व्यापक, आक्रामक र वर्गीय बनाउने निर्णय गरेको छ । जनसभा, कोणसभा, जनसंवाद, राजनीतिक प्रशिक्षण र वैचारिक हस्तक्षेपमार्फत् प्रतिक्रियावादी राज्यसत्ताको झुटो प्रचारलाई चकनाचुर पारिने निर्णय बैठकले गरेको छ।
बैठकले जिल्लाभर पार्टी संगठन विस्तार, जनआधार सुदृढीकरण र वर्गसंघर्षलाई बहुआयामिक रूपमा अघि बढाउने विस्तृत क्रान्तिकारी कार्ययोजना पारित गरेको छ । गाउँ–टोलदेखि मजदुर, किसान, युवा र विद्यार्थी मोर्चामा संगठित क्रान्तिकारी पहल तीव्र पार्दै दलाल सत्ताको वैचारिक प्रभुत्व ध्वस्त पार्ने निर्णय गरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ इन्चार्ज कमरेड नरेश, केन्द्रीय सदस्य तथा १ नं. ब्यूरो कार्यालय सचिव कमरेड अनुपम, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज कमरेड जटिल, केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड उमेशलगायत नेताहरूको सशक्त उपस्थिति रहेको थियो । सहभागी नेताहरूले उदयपुरलाई क्रान्तिकारी वर्गसंघर्षको अग्र मोर्चाका रूपमा विकास गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।
बैठकले जनताको सत्ता स्थापना, प्रतिक्रियावादी राज्ययन्त्रको ध्वंस र वैज्ञानिक समाजवादी जनसंविधान निर्माणको लक्ष्यसहित अघि बढ्ने दृढ संकल्प गर्दै, उदयपुरबाट सुरु भएको यो क्रान्तिकारी पहल १ नम्बर प्रदेश हुँदै सिंगो देशभर फैलिने वर्गसंघर्षको अग्रगामी संकेत भएको निष्कर्ष निकालेको छ ।





