Bahumat Khabar

मोरङमा नेकपा (बहुमत) को कडा निर्णय: फागुन २१ को निर्वाचन खारेज, जनसंघर्षलाई निर्णायक मोडमा लैजाने घोषणा

काठमाडाैं नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङ जिल्लाको तेस्रो जिल्ला बैठक मंगलबार उच्च क्रान्तिकारी चेतना र विशेष उत्साहसाथ सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ को निर्वाचन खारेज गर्ने र जनसंघर्षलाई निर्णायक मोडमा लैजाने दृढ निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा १ नं. व्युराे इन्चार्ज कमरेड धमिलले वर्तमान संसदीय व्यवस्थालाई ऐतिहासिक रूपमा असफल ठहर गर्दै भने: “दलाल संसदीय व्यवस्था र त्यसले जन्माएको संविधानले देशलाई गहिरो संकटतर्फ धकेलेको छ । अब संसदीय सुधारवादबाट होइन, जनतामै आधारित वैज्ञानिक समाजवादी सत्ता तथा जनसंविधान पुनर्लेखनबाट संकटकाे समाधान खाेजिनु पर्छ,  संगठित जनसंघर्षबाट मात्र वैज्ञानिक समाजवादी जनसंविधान सम्भव छ ।”

त्यस्तै, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कमरेड नरेशले शुशिला कार्की नेतृत्वको सरकारलाई “साम्राज्यवादको कठपुतली” ठहर गर्दै फागुन २१ को निर्वाचनलाई जनविरोधी प्रहसनको रूपमा परिभाषित गरे । उनले भने: “यो निर्वाचन खारेज गर्नु आजको तात्कालिक र निर्णायक क्रान्तिकारी कार्यभार हो ।”

बैठकले उक्त निर्वाचनलाई “साम्राज्यवाद, विस्तारवाद र दलाल पुँजीवादको संरक्षणमा मञ्चन गरिएको जनविरोधी नाटक” को रूपमा व्याख्या गर्दै त्यसको पूर्ण खारेजीका लागि सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई एकजुट हुन आह्वान गरेको छ ।

त्यसैगरी, बैठकले वर्तमान पराधीन र जनविरोधी सरकारको स्थानमा स्वाधीन संयुक्त सरकार निर्माण र जनसंविधान पुनर्लेखनका लागि जनअभियान, जनसंघर्ष र जनआन्दोलनलाइ तीव्र बनाउनु पर्ने आवश्यकता औँल्याएको छ । पार्टीद्वारा सञ्चालित ‘जनसंविधानका लागि जनसंघर्ष अभियान’ मोरङ जिल्लाभर योजनाबद्ध, सशक्त र आक्रामक रूपमा सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मजदुर, किसान, सुकुम्बासी, महिला, दलित, उत्पीडित राष्ट्रियता तथा युवा–विद्यार्थीबीच संगठन विस्तार गर्ने र अनुशासित लडाकु संगठन निर्माणमार्फत मोरङलाई क्रान्तिकारी संघर्षको अग्र मोर्चामा रूपान्तरण गर्ने योजना प्रस्तुत गरिएको छ । साथै, संसदीय भ्रम ध्वस्त पार्ने र पार्टीलाई जनतासँग गाँसिएको, लडाकु तथा अनुशासित क्रान्तिकारी शक्ति बनाउने दृढ संकल्प दोहोर्‍याइएको छ ।

बैठकले जनसभा, कोणसभा, जनसंवाद, राजनीतिक प्रशिक्षण र वैचारिक संघर्षलाई अझ तीव्र बनाउँदै गाउँ–टोलदेखि मजदुर, किसान, युवा र विद्यार्थी क्षेत्रसम्म संगठित गरी क्रान्तिकारी हस्तक्षेप विस्तार गर्ने निर्णय गरेको छ । यसबाट उठेको संघर्षलाई देशव्यापी क्रान्तिकारी आन्दोलनमा रूपान्तरण गरिने विश्वास व्यक्त गरिएको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा ब्यूरो कार्यालय सचिव कमरेड अनुपम, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज कमरेड जटिल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । सहभागी नेताहरूले मोरङलाई क्रान्तिकारी संघर्षका लागि रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भएको धारणा व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङ जिल्लाको तेस्रो जिल्ला बैठक दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध वर्गसंघर्षलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ सम्पन्न भएको पार्टीले जनाएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.