Bahumat Khabar

दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्तिको हुंकार- “छ वाम घटकद्वारा औचित्यहीन निर्वाचन बहिष्कारको साझा घोषणाः जनताको संविधान र स्वाधीन संयुक्त सरकार निर्माण अपरिहार्य”

काठमाडौं । दलाल पूँजीवाद, साम्राज्यवाद र प्रतिक्रियावादी संसदीय सत्ताको कुहिएको संरचनालाई जरैदेखि ध्वस्त पार्ने दृढ क्रान्तिकारी संकल्पका साथ छ वटा कम्युनिस्ट घटकहरूको संयुक्त पहलमा गठित संयुक्त संघर्ष समिति द्वारा आयोजित
“स्वाधीन संयुक्त सरकार र जनसंविधानका निम्ति औचित्यहीन संसदीय निर्वाचन बहिष्कार” शीर्षकको सशक्त अन्तरक्रिया कार्यक्रम शुक्रबार सुनसरीको इटहरी मा जनआक्रोश र क्रान्तिकारी हुंकारका बीच सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) र समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहभागी उक्त कार्यक्रम दलाल संसदीय व्यवस्थाविरुद्धको खुला वैचारिक–राजनीतिक विद्रोहको घोषणापत्र का रूपमा उभिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष क. ऋषि कट्टेल ले छ वाम घटकहरूको साझा निष्कर्ष प्रस्तुत गर्दै निर्णायक शब्दमा घोषणा गर्नुभयो—

“मौजुदा दलाल पूँजीवादी संसदीय व्यवस्था र त्यसअन्तर्गतको जनविरोधी संविधानलाई जनताको क्रान्ति र विद्रोहमार्फत खारेज नगरी देशले मुक्ति पाउन सक्दैन ।”

क. कट्टेलले वर्तमान सत्तालाई साम्राज्यवादको कठपुतली को संज्ञा दिँदै, शुशीला कार्की नेतृत्वको सरकारले षड्यन्त्रपूर्ण ढंगले अघि सारेको फागुन २१ को संसदीय निर्वाचन लाई पूर्णतः औचित्यहीन, जनविरोधी र प्रतिक्रियावादी नाटक भएको ठोकुवा गर्नुभयो ।

उहाँले स्पष्ट चेतावनी दिँदै भन्नुभयो—

“हामी जनताको क्रान्ति र विद्रोहमार्फत फागुन २१ को दलाल संसदीय निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्छौं। जबसम्म जनताको संविधान र स्वाधीन संयुक्त जनसरकार स्थापना हुँदैन, तबसम्म निर्मम जनसंघर्षको आँधीबेहरी रोकिनेवाला छैन ।”

यदि जनविरोधी सत्ता जबर्जस्ती निर्वाचन लाद्न उद्यत भए देश गम्भीर टकरावको भुमरीतर्फ धकेलिने चेतावनी दिँदै त्यसको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सत्ताधारी शक्तिहरूले नै लिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

क. कट्टेलका अनुसार आज जनता निर्वाचनको नाटक होइन— सुशासन, शान्ति, गुणस्तरीय निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी तथा मौलिक अधिकार चाहन्छन्। तर दलाल संसदीय व्यवस्थाले शिक्षा र स्वास्थ्यलाई नाफाको वस्तु बनाएको, बेरोजगारीलाई महामारीमा रूपान्तरण गरेको र भ्रष्टाचारलाई राज्यसंरक्षित उद्योग बनाएको उहाँको आरोप थियो।

“उपचार नपाएर जनता मरिरहेका छन्, जबकि दलाल र भ्रष्ट शासक–प्रशासकहरू अकुत सम्पत्ति थुपारिरहेका छन् । भोक, अभाव र अपमान जनताको नियति बनाइएको छ ।”

यी सबै अवस्था जनविरोधी संविधान र दलाल संसदीय सत्ताका प्रत्यक्ष परिणाम भएको उहाँको निष्कर्ष थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य सुरेन्द्र भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य सागर लिम्बु, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य गोकुल राई, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सतिलाल चौधरी, नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) का केन्द्रीय सदस्य कृष्ण अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ अप्सरा बानियाँ लगायतले दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्तिकारी धारणा र संघर्षको ऐतिहासिक अनिवार्यतामाथि धारिलो विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बालकृष्ण सुवेदी ले गर्नुभएको थियो भने
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा सुनसरी सचिव सुरज राई ले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सहजिकरण तथा सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मोरङ इन्चार्ज नरेश शर्मा ले गर्नुभएको थियो ।

संयुक्त संघर्ष समितिले इटहरीसँगै जनकपुर, सिमरा, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज र धनगढी लगायत देशभर अन्तरक्रिया कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ । समितिले यही ५ गते देशव्यापी विरोध प्रदर्शन आयोजना गर्ने र त्यसपछि संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।

उल्लेख्य संख्यामा उपस्थित जनसमुदायबीच सम्पन्न उक्त अन्तरक्रियाले दलाल संसदीय व्यवस्थाविरुद्धको जनआक्रोश अब वैचारिक बहसभन्दा माथि उठ्दै प्रतिरोध र संघर्षको निर्णायक चरणमा प्रवेश गरिसकेको स्पष्ट सन्देश दिएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.