Bahumat Khabar

अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा, रविसँग भयो अमेरिका-नेपाल सहकार्य नयाँ सरकारसँग सहकार्य विस्तारमा केन्द्रित

 काठमाडौं  /  बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएसँगै अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्। उनी बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका कपुरले आफ्नो भ्रमणको सुरुवात सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेर गरेका छन्। भेटमा नेपाल-अमेरिका सम्बन्ध र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको बताइएको छ, यद्यपि विस्तृत विषय सार्वजनिक गरिएको छैन।

त्यसैदिन उनले अमेरिकी उद्योग प्रतिनिधिहरूसँग नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा लगानी र व्यापार विस्तारबारे पनि छलफल गरेका थिए। डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, साइबर सुरक्षा मजबुतीकरण तथा प्रविधि आदानप्रदानका विषयमा कुराकानी भएको जनाइएको छ।

गत वर्ष अक्टोबरमा डोनाल्ड ट्रम्पद्वारा नियुक्त कपुरले यसअघि दक्षिण एशियाली देशहरूमा पनि सक्रिय कूटनीतिक भेटघाट गर्दै आएका छन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्रीसँगको भेट भने अझै निश्चित भएको छैन।

विश्लेषकहरूका अनुसार कपुरको यो भ्रमण नयाँ सरकारसँग सम्बन्ध सुदृढ गर्ने र विशेष गरी प्रविधि तथा आर्थिक सहकार्य विस्तार गर्ने अमेरिकी रणनीतिक पहलको रूपमा हेरिएको छ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.