Bahumat Khabar

अंशु गौतममाथिको क्रुर हत्या : अखिल क्रान्तिकारीद्वारा तीव्र भर्त्सना, अपराधीलाई कडा कारबाहीको माग

काठमाडौँ । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बलात्कारपछि निर्मम हत्या गरिएको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले तीव्र भर्त्सना गरेको छ ।

संगठनका अध्यक्ष वीरेन्द्र शाहले आइतबार जारी गरेको प्रेस वक्तव्यमा उक्त घटनालाई “क्रूर, विभत्स र अमानवीय” भन्दै अपराधीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन सरकारसँग माग गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “असोज २१ गते घरबाट खेल्न निस्किएकी अंशु गौतमको शव १८ दिनपछि लेटाङ–२ र बेलबारीको सिमामा पर्ने साझेदारी वन क्षेत्रमा विभत्स अवस्थामा फेला परेको समाचार अत्यन्त दर्दनाक र लज्जास्पद छ ।”

शाहले अंशु गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन् ।

उनले हाल पनि महिला र बालिकामाथि निरन्तर हिंसा भइरहनु समाजका लागि कलंक भएको उल्लेख गर्दै भनेका छन्, “महिला तथा स–साना बालिकामाथि हुने यस्ता पाशविक हिंसाका घटनाहरूले हाम्रो सामाजिक चेतनालाई चुनौती दिएको छ । यस्तो अपराधका दोषीहरूलाई राज्यले उदाहरणीय सजाय दिनुपर्छ ।”

संगठनले यस्ता घटनाहरूको अन्त्यका लागि समाजका सबै वर्ग एकजुट भई महिला हिंसामुक्त नेपाल निर्माणको अभियानमा जुट्न पनि आह्वान गरेको छ ।

वक्तव्यको अन्त्यमा शाहले “क्रान्तिकारी अभिवादन” व्यक्त गर्दै न्यायका पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.