काठमाडौं । देशको न्याय प्रणालीमाथि प्रत्यक्ष प्रहारका रूपमा लिइएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु भएको छ । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले ती घटनासम्बन्धी जाहेरी प्रहरीमा दर्ता गराएसँगै प्रहरीले छानबिन प्रक्रिया अघि बढाएको हो ।
काठमाडौं प्रहरी परिसर भद्रकालीमा अदालतका तर्फबाट जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रमुख एसएसपी रमेश थापाले जाहेरी प्राप्त भएको पुष्टि गर्दै भने, “अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ।”
प्रहरीका अनुसार, अदालत परिसरमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ । प्रहरी टोलीले घटनास्थलका विभिन्न भिडियो फुटेज, फोटो र प्रत्यक्षदर्शीका बयानका आधारमा संलग्नको पहिचानका प्रयास गरिरहेको जनाएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा ठूलो क्षति पुगेको थियो । आन्दोलनकारीहरूले गरेको आगजनीका कारण न्यायालयका महत्त्वपूर्ण कागजात र अभिलेखहरू जलेर नष्ट भएका थिए ।
न्यायालयमाथि भएको यस्तो आक्रमणलाई देशको कानुनी प्रणाली र न्यायिक स्वाधीनतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको छ । अहिले प्रहरी, अदालत र सम्बन्धित निकायबीच समन्वय गर्दै प्रमाण संकलन र दोषीको पहिचानमा सक्रियता बढाइएको छ ।
स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानपछि संलग्न मानिएका व्यक्तिहरूमाथि विधिवत् मुद्दा दायर गरिने तयारी भइरहेको छ । यस घटनालाई न्यायपालिकाको सुरक्षासम्बन्धी संरचनामा सुधारका लागि पनि ‘टर्निङ प्वाइन्ट’का रूपमा हेरिएको छ ।





