काठमाडौं / सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मचारीले प्राप्त गर्ने ‘स्वेट इक्विटी सेयर’मा विशेष कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ देखि आईटी कम्पनीका कर्मचारीले पाउने स्वेट सेयरलाई रोजगारीबाट प्राप्त आयमा गणना गर्न नपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक ऐन, २०८३ मार्फत आयकर ऐनको दफा ८(३) संशोधन गर्दै सरकारले सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीलाई यस्तो सुविधा दिएको हो । स्वेट इक्विटी सेयर भनेको कम्पनीले आफ्ना कर्मचारीलाई नगद पारिश्रमिकको सट्टा वा अतिरिक्त प्रोत्साहनस्वरूप उपलब्ध गराउने सेयर हो ।
हाल अन्य क्षेत्रका कर्मचारीले प्राप्त गर्ने स्वेट सेयर भने बजार मूल्यका आधारमा आयमा गणना हुने र त्यसबापत कर तिर्नुपर्ने व्यवस्था यथावत् राखिएको छ । यसले एउटै प्रकृतिको आम्दानीमा क्षेत्रअनुसार फरक कर व्यवहार भएको भन्दै कर प्रणालीको समानतामाथि प्रश्न उठेको छ ।
यससँगै सरकारले सूचना प्रविधि उद्योगलाई मुलुकको नयाँ आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्ने लक्ष्य राख्दै आईटी सेवाको निर्यातबाट प्राप्त आम्दानीमा ५० प्रतिशत आयकर छुट दिने व्यवस्था पनि बजेटमार्फत घोषणा गरेको छ ।
सरकारको विश्वास छ कि यी नीतिगत सहुलियतले सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्नुका साथै दक्ष जनशक्ति स्वदेशमै टिकाउन र डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान पुर्याउनेछ ।






