काठमाडौं / भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका छन् । भेटपछि भारतले रास्वपालाई दिएको महत्त्व र नेपाल-भारत सम्बन्धमा यसको प्रभावबारे नयाँ कूटनीतिक बहस सुरु भएको छ ।
भेटपश्चात् सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मोदीले लामिछानेसँगको भेटलाई सुखद अनुभव भएको बताएका छन् । उनले नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन भारत इच्छुक रहेको उल्लेख गरेका छन् । साथै, नेपालको समृद्धि र साझा भविष्यका लागि सहकार्य बढाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ ।
परराष्ट्र मामिलाका जानकारहरूका अनुसार भारतले परम्परागत रूपमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसँग सम्बन्ध कायम राख्दै आएको भए पनि अहिले नेपालको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपासँग पनि सम्बन्ध विस्तार गर्न खोजेको देखिन्छ। यही कारण भारतले लामिछानेलाई उच्चस्तरीय भेटघाट र विशेष प्राथमिकता दिएको विश्लेषण गरिएको छ ।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा नेतृत्वसँग समेत भेटवार्ता गरेका छन् । कूटनीतिक वृत्तमा यसलाई नेपाल-भारत सम्बन्धको नयाँ अध्याय र उदाउँदो राजनीतिक शक्तिसँग भारतको सम्बन्ध विस्तारको प्रयासका रूपमा हेरिएको छ ।
विश्लेषकहरूका अनुसार भारतको यो सक्रियता केवल रास्वपाप्रति मात्र नभई नेपालसँगको दीर्घकालीन रणनीतिक सम्बन्धलाई निरन्तरता दिने प्रयास पनि हो । नेपालको बदलिँदो राजनीतिक समीकरणमा रास्वपाको बढ्दो प्रभावलाई ध्यानमा राख्दै भारतले भविष्यको सहकार्यका लागि सम्बन्ध सुदृढ बनाउन खोजेको उनीहरूको बुझाइ छ ।





