काठमाडौं, १ / दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको सार्वजनिक बिदा परेकाले कार्यक्रम निर्धारित समयभन्दा पछि सारिएको विभागले जनाएको छ ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको संक्रमणबाट हुन सक्ने स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्न सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विभागले कात्तिक १७ र १८ गते नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण केन्द्रमा आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । निर्धारित समयमा बालबालिकालाई औषधि खुवाएर उनीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिनसमेत विभागले अनुरोध गरेको छ ।
