Skip to main content

Bahumat Khabar

पत्रकार किशोर श्रेष्ठलाई घरबाटै साइबर ब्युरो लगियो, हिमेश पन्तसँग छलफल गराउने तयारी

काठमाडौं, ३१ / जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरस्थित निवासबाट साइबर ब्युरो पुर्‍याएको छ । समाचारको विषयलाई लिएर परेको निवेदनका सम्बन्धमा छलफल गर्न भन्दै उनलाई प्रहरी टोलीले ब्युरोमा उपस्थित गराएको हो ।

प्राप्त जानकारीअनुसार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको निवास पुगेको थियो । मोबाइलमा सम्पर्क हुन नसकेपछि जानकारी गराउन प्रहरी टोली घरमै पुगेको र त्यसपछि श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरो लगिएको प्रहरी स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएको बताइएको छ । दुवै पक्षबाट निवेदन परेपछि घटनाबारे छलफल गराउने तयारी गरिएको ब्युरो स्रोतले जनाएको छ । पन्तलाई पनि छलफलका लागि बोलाइएको छ ।

श्रेष्ठ यसअघि गत साउन २७ गते काठमाडौं प्रहरीले पक्राउ परेका थिए । त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।

त्यसपछि श्रेष्ठको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो । उक्त रिटमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए ।

पछिल्लो घटनामा भने श्रेष्ठलाई पक्राउ गरिएको नभई निवेदनका सम्बन्धमा छलफल गर्न साइबर ब्युरो लगिएको प्रहरी स्रोतको भनाइ छ । दुवै पक्षबीच हुने छलफल र त्यसपछि प्रहरीले अघि बढाउने प्रक्रियाबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box
By बहुमत खबर

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.