काठमाडौं / नेपालको साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि खडेरी तोड्ने लक्ष्यमा फेरि एकपटक बंगलादेश तगारो बनेको छ । बुधबार माल्दिभ्समा सम्पन्न रोमाञ्चक सेमिफाइनल भिडन्तमा बंगलादेशसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको १० औं मिनेटमा एमडी मानिकले गरेको गोल नै बंगलादेशलाई फाइनल पुर्याउन निर्णायक बन्यो । सुरुआती दबाब झेलेको नेपालले खेल अवधिभर गोलका केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्न बाध्य भयो । पछिल्लो समय उमेर समूहको फुटबलमा बंगलादेश नेपालका लागि निकै कठिन प्रतिद्वन्द्वी सावित हुँदै आएको छ ।
यसअघि सन् २०२४ मा घरेलु मैदानमै भएको फाइनलमा पनि बंगलादेशले नै नेपालको उपाधि सपना चक्नाचुर पारेको थियो । त्यस्तै २०२५ को संस्करणमा पनि नेपाल सेमिफाइनलमा बंगलादेशसँगै २–१ ले पराजित भएको इतिहास छ । प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगिताअघि नै बंगलादेशलाई मुख्य चुनौतीका रूपमा हेरे पनि मैदानमा त्यसको रणनीतिक तोड निकाल्न नेपाल असफल रह्यो ।
सुरुवाती दुई संस्करणमा लगातार च्याम्पियन बनेको नेपालले त्यसयता उपाधि चुम्न सकेको छैन । पछिल्ला वर्षहरूमा भारत र बंगलादेशको दबदबा रहेको यस प्रतियोगितामा नेपाल यसपटक पनि सेमिफाइनलमै खुम्चिन पुग्यो । अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।





