Skip to main content

Bahumat Khabar

दाउन्ने सडक खण्डमा पुनः संकट: हिलो र चिप्लोपनले पूर्व–पश्चिम यातायात ठप्प

बुटवल । लगातारको वर्षा र निर्माणाधीन सडकका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भाग फेरि ठप्प भएको छ । सडक हिलो र अत्यधिक चिप्लो बनेपछि प्रहरी प्रशासनले सवारी साधन नचलाउन अनुरोध गरेको छ ।

पानी रोकिए पनि बाटो सुक्न नसकेर बिग्रँदै गएकाले सोमबार बिहानैदेखि दाउन्नेमा सवारी साधनको लामो जाम देखिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्किबासदेखि होङसी सिमेन्ट गेटसम्म करिब १० किलोमिटर लामो सवारी लाइन परेको छ ।

बर्दघाटबाट दुम्किबासतर्फ जाने सवारीसाधनलाई तात्कालिक रूपमा पास गरिए पनि पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधन रोकिएका छन् । दाउन्नेको उकालोमा आधा दर्जनभन्दा बढी ट्रक र बस बिग्रिएर सडक बीचमै अड्किएपछि बाटो एकतर्फी बनेको जिल्ला प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । “सडक हिलो र चिप्लो छ, सवारी उकालोमा चढ्न सकेका छैनन् । बिग्रिएका सवारी हटाउन कठिन भएकाले जाम अझै खुल्न समय लाग्छ,” उनले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गर्दै दाउन्ने हुँदै यात्रा नगर्न तथा कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायत क्षेत्रबाट वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीले यात्रु र सवारीलाई ती स्थानमै रोक्दै ‘होल्डिङ एरिया’ मा राख्न थालेको छ ।

दाउन्ने खण्डको सुधार कार्य चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । तर, दशैंअघि नै यात्रा सहज बनाउन निर्देशन दिए पनि काम सुस्त रहेको स्थानीयको आरोप छ । १४ किलोमिटरमध्ये हाल मात्र ३ किलोमिटर कालोपत्रे भएको छ, केही भागमा ठुला ढलानको काम भए पनि ४ ठाउँमा कल्भर्ट निर्माण अपूरो भएकाले सडक एकतर्फी बनेको छ ।

स्थानीय बासिन्दा भन्छन्, “दैनिकजसो गाडी फस्ने, यात्रु घण्टौं हिलोमा अल्झिने अवस्था छ। चिप्लो सडकले दुर्घटनाको जोखिम पनि बढेको छ ।”

दाउन्ने सडक खण्डमा पछिल्ला पाँच दिनदेखि लगातार समस्या दोहोरिँदै आएको छ । सडकको वर्तमान अवस्था सुधार नगरेसम्म यो राजमार्गमा यात्रु र सवारी दुबैका लागि दुःखको यात्रा बन्ने निश्चित देखिन्छ ।

Facebook Comments Box
By बहुमत खबर

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.