Bahumat Khabar

दोस्रो चरणको आन्दोलन घोषणा : यही फागुन ५ गते नेपाल बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न संसदीय निर्वाचनलाई “निकासविहीन र जनविरोधी” ठहर गर्दै त्यसको खारेजीका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टीले यही २०८२ फागुन ५ गते देशव्यापी नेपाल बन्द आह्वान गर्दै स्वाधीन संयुक्त सरकार गठन र जनसंविधान निर्माणको बाटोमा अघि बढ्न सबै राजनीतिक शक्ति तथा आम जनसमुदायलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

पार्टीका महासचिव कञ्चनद्वारा जारी प्रेस वक्तव्यअनुसार, माघ महिनाको दोस्रो साता सम्पन्न सचिवालय बैठकले चौथो केन्द्रीय समितिका निर्णयहरू तथा छ कम्युनिष्ट पार्टी आबद्ध संयुक्त संघर्ष समितिका कार्यक्रमहरूको व्यापक समीक्षा गर्दै आगामी आन्दोलनको कार्यदिशा तय गरेको हो । समीक्षा अवधिमा देशभर राजनीतिक, संगठनात्मक र संघर्षका कार्यक्रमहरू उत्साहजनक रूपमा सम्पन्न भएको पार्टीको निष्कर्ष छ ।

वक्तव्यमा उल्लेख भएअनुसार, संयुक्त संघर्ष समितिद्वारा तय गरिएका चुनाव बहिष्कार तथा खारेजीसम्बन्धी पहिलो चरणका कार्यक्रमअन्तर्गत पुष २५ गते घोषणा सभा, २८ गते मशाल जुलुस, २९ गते उपत्यका बन्द, माघ २ गते अन्तरक्रिया तथा माघ ५ गते देशव्यापी जनप्रदर्शन सफलतापूर्वक सम्पन्न भएका छन् । ती कार्यक्रमका क्रममा जनताबाट प्राप्त सहयोग र सहानुभूतिप्रति पार्टीले आभार व्यक्त गरेको छ भने शान्तिपूर्ण संघर्षका क्रममा देशभर गिरफ्तार भएका कमरेडहरूप्रति क्रान्तिकारी सम्मान प्रकट गरेको छ ।

यसैबीच, संयुक्त संघर्ष समितिमा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड पूर्णबहादुर खड्कालाई सिन्धुलीबाट शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन गरिरहेकै क्रममा गिरफ्तार गरिएको घटनालाई पार्टीले दमनकारी र अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ । वक्तव्यमा उक्त गिरफ्तारीको कडा भर्त्सना गर्दै, लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारलाई चेतावनी दिइएको छ र गिरफ्तार कमरेडको तत्काल रिहाइको जोडदार माग गरिएको छ ।

सुशासनकाे माग गर्दै भदौ २३ मा भएको ‘जेनजी विद्रोह’ अपहरण भइसकेको दाबी गर्दै अग्रगमन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणको ढोका फेरि बन्द गरिएको निष्कर्ष पार्टीले  निकालेको छ । जेनजीमार्फत् अभिव्यक्त जनआकांक्षालाई बेवास्ता गर्दै फागुन २१ गते केवल संसदीय चुनावका लागि मिति तोकिनु पुरानो व्यवस्था जोगाउने चाल मात्र भएको पार्टीको ठहर छ । यस्तो चुनावबाट देशको विद्यमान संकट समाधान हुन नसक्ने कुरा घामजत्तिकै छर्लङ्ग भएको वक्तव्यमा उल्लेख छ ।

यही पृष्ठभूमिमा, पार्टीले निकासविहीन चुनाव स्थगित गरी बलियो र सुव्यवस्थित राष्ट्रिय सहमतिको आधारमा स्वाधीन संयुक्त सरकार गठन र जनसंविधान निर्माणको मार्ग अवलम्बन गर्न सबै पक्षलाई पुनः आग्रह गरेको छ । यस लक्ष्यलाई अघि बढाउन दोस्रो चरणको आन्दोलनअन्तर्गत माघ २० गतेदेखि फागुन ४ गतेसम्म व्यापक घरदैलो कार्यक्रमफागुन ५ गते देशव्यापी नेपाल बन्दको आयोजना गरिएको हो ।

संयुक्त संघर्ष समितिप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले स्वाधीन संयुक्त सरकार र जनसंविधानका लागि अनुकूल राजनीतिक वातावरण सिर्जना गर्न फागुन ५ गतेको नेपाल बन्द सफल पार्न आम जनसमुदाय, श्रमिक, किसान, विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण मित्र शक्तिहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरेको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.