काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर व्यूरोले आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा १ नं. व्यूरो इन्चार्ज कमरेड प्रेमप्रकाश वली ‘धमिल’ र जिल्ला सदस्य कमरेड हेम अर्याललाई झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ शान्तिनगरबाट “अपहरण शैलीमा” गिरफ्तार गरिएको भन्दै कडा विरोध जनाएको छ ।
पार्टीका कार्यालय सचिव अनुपमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त गिरफ्तारीलाई “जघन्य र फासिवादी हर्कत” भन्दै घोर निन्दा तथा भर्त्सना गरिएको छ । विज्ञप्तिमा भनिएको छ कि संगठनात्मक काममा संलग्न रहेका नेताहरूमाथि गरिएको यो कदम केवल दुई व्यक्तिमाथिको मात्र आक्रमण नभई सम्पूर्ण क्रान्तिकारी आन्दोलन, श्रमिक–किसान वर्ग र उत्पीडित जनसमुदायमाथिको प्रत्यक्ष राजनीतिक आक्रमण हो ।
विज्ञप्तिमा वर्तमान सत्तालाई “प्रतिक्रियावादी, दलाल र कठपुतली”को संज्ञा दिँदै सरकारले आफ्ना असफलता, भ्रष्टाचार, बेरोजगारी र महँगीबाट ध्यान मोड्न दमनको बाटो रोजेको आरोप लगाइएको छ । साथै, फागुन २१ मा हुन लागेको कथित चुनावी प्रक्रियाप्रति बढ्दो जनआक्रोशका कारण सरकार क्रान्तिकारी शक्तिमाथि दमनमा उत्रिएको दाबी गरिएको छ ।
पार्टीले गिरफ्तारी, धरपकड र झुठा मुद्दाले जनताको मुक्तिको आन्दोलन रोक्न नसक्ने चेतावनी दिँदै इतिहासले दमनले आन्दोलनलाई झन् सशक्त बनाउने प्रमाणित गरिसकेको उल्लेख गरेको छ । राजनीतिक आस्थाकै आधारमा गरिएको गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रता र संगठनको अधिकारमाथिको ठाडो प्रहार भन्दै यसले देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा गिरफ्तार गरिएका सम्पूर्ण नेताहरूको बिना शर्त रिहाइको माग गरिएको छ । दमन नरोके देशव्यापी सशक्त आन्दोलन, चरणबद्ध संघर्ष, विरोध प्रदर्शन तथा जनप्रतिरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी पार्टीले दिएको छ ।
अन्त्यमा, श्रमिक–किसान, विद्यार्थी–युवा, महिला, उत्पीडित समुदाय तथा देशभक्त जनतालाई अन्याय र दमनविरुद्ध एकताबद्ध संघर्षमा उत्रिन आह्वान गरिएको छ । 




