Bahumat Khabar

सशस्त्र प्रहरी नेतृत्व फेरबदल नजिकिँदै: आईजी राजु अर्याल अवकाशमा, नयाँ नियुक्तिमा सरकारको ‘सुशासन परीक्षा’

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) राजु अर्याल आगामी २०८३ वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । चार वर्षे कार्यकाल पूरा गर्दै उनी संगठनबाट बिदा हुन लागेका हुन् ।

अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीमा इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका उनी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । कानुनी व्यवस्था अनुसार सशस्त्र प्रहरीका आईजीको कार्यकाल चार वर्षको हुने प्रावधान छ ।

उनका ब्याचमेट दानबहादुर कार्की हाल नेपाल प्रहरीको आईजीपी छन्, जसको कार्यकाल २०८४ चैत १७ सम्म रहनेछ, यदि कानुनमा परिवर्तन नभएमा प्रहरी र सशस्त्र दुवै संगठनमा ३० वर्षे सेवा अवधि भए पनि अर्याल भने २८ वर्षमै अवकाशमा जाँदैछन् ।

अर्यालको नेतृत्वमा सशस्त्र प्रहरीले २०७९ को स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो घेराको सुरक्षा जिम्मेवारी सफलतापूर्वक सम्हालेको थियो ।

उनको कार्यकालमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन तथा “जेनजी” प्रदर्शन जस्ता चुनौतीपूर्ण परिस्थितिहरूको सामना गरिएको थियो ।

संगठनभित्र सरुवा र बढुवालाई पारदर्शी बनाउने प्रयास उनको कार्यकालको प्रमुख उपलब्धि मानिएको छ । सरुवाको पूर्वसूची सार्वजनिक गर्ने अभ्यासले भनसुन कम गर्न मद्दत गरेको उच्च अधिकृतहरू बताउँछन् । यद्यपि उच्च तहका बढुवामा राजनीतिक प्रभाव भने पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

अर्यालको अवकाशसँगै सशस्त्र प्रहरीको नयाँ नेतृत्व को हुने भन्ने विषयमा चासो बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गर्ने अपेक्षा गरिएको छ । यस नियुक्तिलाई सरकारको सुशासनको परीक्षणका रूपमा समेत हेरिएको छ ।

हाल आईजी पदका लागि तीन एआईजीबीच प्रतिस्पर्धा देखिएको  छः जसमा  नारायणदत्त पौडेल – वरीयतामा पहिलो, २०७९ जेठ ६ मा एआईजी बढुवा भएका हुन् भने वंशीराज दाहाल – २०७९ असोज २८ मा एआईजी बढुवा भएका हुन् । त्यस्तै गणेश ठाडा मगर – २०८२ असार ३ मा एआईजी बढुवा भएका हुन् ।

पौडेल वरीयतामा अग्रस्थानमा भएकाले उनी सबैभन्दा बलिया दाबेदार मानिएका छन् । सशस्त्र प्रहरीमा परम्परागत रूपमा वरीयतालाई प्राथमिकता दिँदै आएको छ ।

हाल पौडेल मानवस्रोत विकास विभाग, दाहाल सीमा सुरक्षा विभाग र ठाडा मगर कार्य विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

सशस्त्र प्रहरी नियमावली–२०७२ को नियम ५३ अनुसार सरकारले एआईजीमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा आईजी नियुक्त गर्ने व्यवस्था छ । कार्यकुशलतामा नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय दक्षता तथा अधीनस्थलाई परिचालन गर्ने क्षमता समावेश हुन्छ ।

यसैबीच सशस्त्र प्रहरीमा ६ डीआईजी पद रिक्त छन् । डीआईजीहरू कुमार न्यौपाने, कमल गिरी, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा गएपछि पद खाली भएको हो भने थप दुई दरबन्दी नयाँ सिर्जना गरिएको छ । यी पदहरूमा अझै बढुवा हुन सकेको छैन ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.