Bahumat Khabar

विप्लव नेतृत्वको नेकपाका १७ बुँदे निर्णय सार्वजनिक, ५०० र १००० दरका नोट खारेज गर्न माग

काठमाडौँ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णयहरू सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असोज २६ देखि ३० गतेसम्म बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिअनुसार, पार्टीले देशमा प्रचलित ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । नेकपाको भनाइमा, भ्रष्टाचारी, तस्कर र माफियाहरूले जम्मा गरेको कालोधनलाई नियन्त्रण गर्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छापिनुपर्नेछ ।

त्यस्तै बैठकका मुख्य निर्णयहरू यसप्रकार रहेका छन् —

  • जेनजी विद्रोहबारे मूल्यांकन : बैठकले जेनजी विद्रोहलाई युवाहरूको अग्रसरता र जनसमर्थनमा सम्पन्न ऐतिहासिक जनआन्दोलनको रूपमा मूल्यांकन गर्दै यसको असफलताका कारण र आगामी बाटोबारे विश्लेषण गरेको छ । पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरु सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरेको छ । नयाँ सरकारलाई संविधान पुनर्लेखन, राज्य पुनर्संरचना र प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्ने अधिकार दिनुपर्ने निर्णय बैठकले गरेको छ।

  • भ्रष्टाचार विरुद्ध कडा निर्णय : भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय दिनुपर्ने तथा स्वदेशी–विदेशी बैंकमा लुकाइएको कालोधन खोजी गरी राष्ट्रियकरण गर्नुपर्ने बैठकको निष्कर्ष छ । त्यसका लागि शक्तिशाली नागरिक आयोग र विशेष न्यायालय गठन गर्न माग गरिएको छ ।

  • साम्राज्यवादी हस्तक्षेपबारे चिन्ता : अमेरिकी भूमण्डलीकृत हस्तक्षेपका कारण नेपालमा राष्ट्रिय स्वाधीनता संकटमा परेको भन्दै बैठकले राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न देशभक्त, समाजवादी र वाम शक्तिहरूबीच मोर्चाबन्दीको आह्वान गरेको छ ।

  • एनजीओ/आईएनजीओ नियन्त्रण : विदेशी शक्तिकेन्द्रबाट सञ्चालित र राष्ट्रियता कमजोर पार्ने गैरसरकारी संस्थाहरूको छानबिन गरी खारेज गर्नुपर्ने, तर पारदर्शी ढंगले काम गर्ने संस्थालाई मात्रै अनुमति दिनुपर्ने निर्णय गरिएको छ ।

  • सांस्कृतिक संरक्षण र सामाजिक नीति : विदेशी पैसाको प्रभावमा भइरहेको धर्मपरिवर्तन र “छाडा समलिङ्गी विवाह” बन्द गर्नुपर्ने भनिएको छ । साथै सबै समुदायका भाषिक, सांस्कृतिक र धार्मिक अधिकारको निष्पक्ष संरक्षण गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

  • चुनाव र सुरक्षाको अवस्था : हालको असुरक्षित अवस्थाले सहज चुनाव सम्भव नरहेको भन्दै उच्चस्तरीय राजनीतिक सहमति र संरचना नबनेसम्म चुनाव नगर्न चेतावनी दिइएको छ ।

  • राजनीतिक गोलमेच सम्मेलनको तयारी : देशभक्त, समाजवादी, वामपन्थी शक्तिहरूलाई समेटेर राजनीतिक गोलमेच सम्मेलन आयोजना गर्ने तथा विभिन्न क्षेत्रका नागरिक र बुद्धिजीवीसँग अन्तरक्रिया अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

  • कम्युनिस्ट एकता र नयाँ केन्द्र निर्माण : जेनजी विद्रोहपछि कम्युनिस्ट शक्तिहरूबीच एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य बनेको भन्दै पार्टीले सबै समाजवादी, माओवादी र वाम घटकसँग छलफल बढाउने निर्णय गरेको छ ।

  • आर्थिक नीति : आत्मनिर्भर अर्थतन्त्रको अभ्यासमा सकारात्मक प्रगति भएको उल्लेख गर्दै पार्टीले “एकीकृत स्वामित्व” अन्तर्गत उद्योग संचालन गर्ने र कृषि उत्पादन बढाउने निर्णय गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र हजारका नोट खारेज गरी नयाँ नोट जारी गर्न राज्यलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

  • सांस्कृतिक आन्दोलन : जनतालाई एकताबद्ध गर्न प्रत्येक शनिबार श्रम, सरसफाइ र सहिद प्रतिमामा सम्मान कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीले राष्ट्रपतिको ध्यानाकर्षणका लागि ज्ञापनपत्र पेस गर्ने र आगामी कात्तिक २० गते राजधानीमा वृहद् जनसभा आयोजना गर्ने तयारी गरेको जनाएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.