Bahumat Khabar

महसुल विवाद नटुंगिँदा कारबाही तीव्र : प्राधिकरणद्वारा थप १८ उद्योगको लाइन काटियो

काठमाडौँ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद अझै नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले शुक्रबार साँझ थप १८ वटा उद्योगहरूको विद्युत् लाइन काटेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक विवाद कायम रहेका सबै उद्योगको लाइन काटिएको हो । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ वटा उद्योगको लाइन काटिएको थियो ।

ढकालका अनुसार बाँकी उद्योगहरूले तोकिएको समयभित्र महसुलको पहिलो किस्ता नबुझाएकाले प्राधिकरण बाध्य भएर लाइन काट्न पुगेको हो । प्राधिकरणले यसअघि नै उद्योगहरूलाई तत्काल किस्ता बुझाउन चेतावनी दिएको थियो ।

हाल विवादमा रहेका १४ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाइसकेका छन् । त्यस्तै, डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी रकम किस्ता तिर्न पर्याप्त भएकाले उनीहरूको लाइन काटिएको छैन ।

यसैगरी, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट प्रालि, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ वटा उद्योग अदालत गएकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन पनि काटिएको छैन ।

असोज १० गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्मको समय दिइएको थियो । तर, उद्योगीहरूले महसुल दर अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन् ।

प्राधिकरणले भने सबै उद्योगहरूलाई कानुनी प्रक्रिया अनुसार महसुल तिर्न आग्रह गर्दै चेतावनी दिएको छ कि अब पनि महसुल नबुझाए थप कानुनी कारबाही गरिनेछ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.