Bahumat Khabar

नेपालको ऐतिहासिक जित : भारतलाई घरेलु मैदानमै पराजित, कप्तान साबित्राको दोहोरो चमक

काठमाडाैं । इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै आयोजक भारतलाई घरेलु मैदानमै २–१ गोल अन्तरले पराजित गरेको छ । मंगलबार भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा कप्तान साबित्रा भण्डारी (साम्बा) ले दुबै गोल गर्दै नेपालको ऐतिहासिक जित सुनिश्चित गरिन् ।

खेलको सुरुवातमै आक्रामक प्रदर्शन गरेको नेपालले दोस्रो मिनेटमै अग्रता लियो । कप्तान साबित्राले दुई जना भारतीय डिफेन्डर र गोलकिपरलाई छल्दै शानदार गोल गरेकी थिइन् । त्यसपछि पनि नेपालले निरन्तर दबाब कायम राख्यो । २२ औँ मिनेटमा प्रीति राईले सुन्दर मौका पाए पनि गोल गर्न सफल भइनन्, भने ३२ औँ मिनेटमा भारतकी दाङमेइ ग्रेसले बराबरी गर्ने अवसर गुमाइन् ।

पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट संयोजन जारी राख्यो । खेलको ६२ औँ मिनेटमा प्रीतिमाथि फाउल भएपछि नेपालले डिबक्स अगाडि फ्री–किक पायो । त्यसको एक मिनेटमै, ६३ औँ मिनेटमा साबित्राले सटीक फिनिसिङ गर्दै दोस्रो गोल गरिन् ।

भारतले ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमको गोलमार्फत एक गोल फर्काए पनि बराबरी गर्न सकेन । त्यसपछि पनि नेपालले आक्रमण जारी राख्यो । ८३ औँ मिनेटमा साबित्राको पासमा प्रीतिको प्रहार बार माथिबाट बाहिरिँदा स्कोर फरक रह्यो ।

यस खेलमा नेपालका लागि अर्को सुखद पक्ष थियो — युवा फरवार्ड मीना देउवाको राष्ट्रिय टिममा डेब्यु । उनी ७८औँ मिनेटमा रेखा पौडेललाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरिन् । यु–२० टोलीमा उत्कृष्ट प्रदर्शन गरेकी मीनाले जर्सी नम्बर १५ लगाएर पहिलोपटक सिनियर टिममा अवसर पाएकी हुन् ।

यो जितसँगै नेपालले भारतविरुद्धको दीर्घकालीन प्रतिस्पर्धामा अर्को गौरवपूर्ण अध्याय थपेको छ । यसअघि दुबै देशबीच भएका १९ खेलमध्ये भारतले ११ पटक, नेपालले ३ पटक जितेको र ४ खेल बराबरीमा टुंगिएका थिए ।

नेपालको यो जितले त्रिदेशीय प्रतियोगितामा बलियो सन्देश मात्रै दिएको छैन, महिला फुटबलमा नयाँ आत्मविश्वास र उत्साह पनि भरेको छ । कप्तान साबित्राको असाधारण प्रदर्शन र टोलीको सामूहिक खेलले आगामी प्रतियोगितामा नेपालको सम्भावना अझ बलियाे देखाएको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.