सुर्खेत । सुर्खेतस्थित बिरेन्द्रनगरको सूर्यदिप बोर्डिङ स्कूलले शुल्क तिर्न नसकेको कारण कक्षा ४ र ६ मा अध्ययनरत दुई जना बालबालिकालाई विद्यालयबाट निष्कासन गरेको घटनाले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। यस घटनाप्रति नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), जिल्ला समिति सुर्खेतले तीव्र आपत्ति जनाएको छ ।
संगठनका सुर्खेत इञ्चार्ज अम्मर रसाइलीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा विद्यालय प्रशासनको कदमलाई “शिक्षा अधिकारमाथिको खुला हमला” भन्दै कडा शब्दमा आलोचना गरेका छन् । वक्तव्यमा भनिएको छ, “शिक्षा कुनै पनि व्यापारीक वस्तु होइन । आर्थिक कठिनाइका कारण विद्यार्थीलाई विद्यालयबाट निकाल्नु नेपालको संविधान र बालअधिकारको मर्म विपरीतको कार्य हो ।”
अखिल (क्रान्तिकारी)ले निजी विद्यालयहरू शिक्षालाई नाफामुखी व्यवसायमा बदल्ने प्रवृत्तिले “शिक्षा माफियाको कुरूप रूप” प्रकट भएको आरोप लगाएको छ । वक्तव्यमा थप भनिएको छ, “निजी विद्यालयहरूले शिक्षालाई व्यापारको रूपमा परिवर्तन गर्ने प्रवृत्तिले समाजमा अन्यायपूर्ण वर्गीय विभेदलाई गहिरो बनाउँदै लगेको छ, जसप्रति हामी गम्भीर निन्दा र घोर विरोध गर्दछौं ।”
संगठनले विद्यालय प्रशासनलाई तुरुन्तै निष्कासनमा परेका ती विद्यार्थीहरूलाई पुनः कक्षामा फर्काउने वातावरण बनाउन चेतावनी दिएको छ । अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिंदै वक्तव्यमा भनिएको छ, “यदि विद्यालय प्रशासनले तत्काल गल्ती सुधार नगरी विद्यार्थीलाई फिर्ता नगरे, अखिल (क्रान्तिकारी) शैक्षिक माफियाविरुद्ध निर्णायक संघर्षमा उत्रिनेछ ।”
यस घटनाले निजी विद्यालयहरूको शुल्क नीति र शिक्षाको व्यापारीकरणबारे फेरि एकपटक सार्वजनिक बहसलाई तातेको छ । अभिभावकहरूले पनि आर्थिक अवस्थाका कारण शिक्षा अधिकारबाट वञ्चित हुने अवस्था अन्त्य गर्न सरकारसँग ठोस कदम चाल्न माग गरेका छन् ।






