Bahumat Khabar

मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड : सोनलले दिए राजीनामा, सिन्धुलीमा सरोज यादवले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौं । मधेस प्रदेशको राजनीतिले शनिबारदेखि नै नाटकीय मोड लिएको छ। प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गर्दै पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । बैठकपछि उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पुगेर राजीनामा पत्र बुझाएका थिए ।

मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ, “मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु । मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” सोनलले आफ्नो कार्यकालमा साथ र सहयोग प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै पद त्यागेको घोषणा गरेका हुन् ।

तर, उनको राजीनामापछि मधेस प्रदेशको सत्ता समीकरण झनै जटिल बन्यो । सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई संविधानको धारा १६८ (३) अनुसार मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरी सिन्धुलीको एक होटलमा शपथ ग्रहण गराइन् ।

सामान्यतया शपथ ग्रहण कार्यक्रम जनकपुरमा हुने प्रचलन रहे पनि यस पटक विरोध प्रदर्शन र असहज अवस्थाका कारण सिन्धुलीमा गोप्य रूपमा कार्यक्रम आयोजना गरिएको थियो । जनकपुरमा अवस्था सहज थिएन, विरोध प्रदर्शन भइरहेको थियो, त्यसैले सिन्धुलीमा कार्यक्रम राखिएको हो।”

पूर्वमुख्यमन्त्री सोनलले भने उक्त घटनालाई “मधेस प्रदेशको अस्मिता समाप्त पार्ने खेल” भनेर कडा प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एक होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन् ।”

यससँगै मधेस प्रदेशको राजनीतिक परिदृश्य पुनः अशान्त बनेको छ। नयाँ मुख्यमन्त्री सरोज यादवको नेतृत्वमा बन्ने सरकारले विश्वासको मत कसरी हासिल गर्छ भन्ने विषय अब प्रदेशसभाको मुख्य राजनीतिक केन्द्र बनेको छ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.