Bahumat Khabar

शिक्षामन्त्री पुनको कडा चेतावनी : “शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिमा संलग्न भए कारबाही गरिने”

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलमा आबद्ध हुन नपाइने चेतावनी दिएका छन् ।

मन्त्रालयको आधिकारिक इमेल, टेलिफोन, व्हाट्सएप र सामाजिक सञ्जालहरूमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा शिक्षाविद्हरूबाट प्राप्त गुनासोका आधारमा मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयले जनाएका अनुसार पेशागत हकहितका लागि स्थापित नेपाल शिक्षक महासंघ, त्यससँग आवद्ध संगठनहरू तथा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघहरू पेशागत कर्तव्य, नैतिक दायित्व र आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो आएको छ । यसले शिक्षाको गुणस्तरमा नकारात्मक असर पारिरहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्री पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीका लागि बनेका पेशागत ऐनहरूले कर्तव्य र आचरणका स्पष्ट मापदण्ड तय गरेको उल्लेख गर्दै भनेका छन्, “कुनै पनि पेशागत ऐनले शिक्षक, प्राध्यापक वा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । यस्तो कार्यमा संलग्न भएको प्रमाणित भए पदबाट बर्खास्तसम्मको कानूनी कारबाही हुनेछ ।”

उनले विभिन्न राजनीतिक दलका भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा रहेका शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनहरूलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

मन्त्री पुनले शिक्षक र कर्मचारीका पेशागत हकहित तथा संविधान प्रदत्त अधिकारको सम्मान गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै भनेका छन्, “हाम्रो उद्देश्य शिक्षक महासंघ, प्राध्यापक संघलगायतका संस्थाहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक बनाउने हो । त्यसका लागि कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आवश्यक छ ।”

उनले अन्त्यमा चेतावनी दिएका छन्, “शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय तथा विश्वविद्यालय शान्तिक्षेत्रको मर्म विपरीत कुनै गतिविधि भए प्रचलित कानुनअनुसार मन्त्रालयले कडा कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.