Bahumat Khabar

ऐतिहासिक घटना: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक ज्यानमुद्दामा पक्राउ

काठमाडौं । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको टोलीले भक्तपुरको गुण्डुस्थित निजी निवासमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा गएको टोलीले ओलीलाई पक्राउ गरेको पुष्टि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले गरेका छन् । उनीलाई नियन्त्रणमा लिन प्रहरी टोली शुक्रबार रातिदेखि नै गुण्डु क्षेत्रमा परिचालन गरिएको थियो ।

यसै क्रममा ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भदौ २३ गते भएको “जेनजी आन्दोलन” का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धान गर्न दुवै जनालाई पक्राउ गरिएको हो ।

चार दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुर लागेको उल्लेख छ । उक्त दफाअनुसार दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

नेपालको राजनीतिक इतिहासमा कुनै पूर्वकार्यकारी प्रमुख ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ । यसअघि राजनीतिक प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्रीहरू नियन्त्रणमा परे पनि यस्ता प्रकृतिका अभियोगमा पक्राउ परेका थिएनन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि गृहमन्त्री सुदन गुरुङले प्रहरीलाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । आयोगको निर्णय कार्यान्वयन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कानून सचिव पारश्वर ढुंगानासमेत रातभर सक्रिय रहेको स्रोतले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार आयोगको प्रतिवेदन मात्र पर्याप्त आधार नभएपछि मृतक र घाइतेका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

स्रोतका अनुसार प्रहरीले जिल्ला अदालतबाट पूर्वअनुमति नलिई जरुरी पूर्जीका आधारमा पक्राउ गरेको हो । अब उनलाई २४ घण्टाभित्र स्वास्थ्य परीक्षणपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ ।

Facebook Comments Box

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.